ओली आज बालकोट सर्दै

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सर्दै हुनुहुन्छ ।

३९ महिना लामो प्रधानमन्त्रीको कार्यकाल पूरा गरेर ओली आज बालकोट सर्न लाग्नुभएको हो । २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली फागुन ६ गते बालुवाटार सर्नुभएको थियो ।

सर्वोच्च अदालतको परमादेश अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हिजो प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले आज सरकारी निवास छाड्न लाग्नुभएको हो ।

ओलीलाई युवा संघ नेपालले करिब २ हजार गाडी र ३ हजार मोटरसाइकलसहित बालकोट निवासका लागि स्कर्टिङ गर्ने तयारी गरेको छ।

ओलीको स्कर्टिङका लागि युवा संघ नेपाल र खेलकुद महासंघले आफ्ना कार्यकर्तालाई साढे १० बजे बालुवाटारमा भेला हुन आह्वान गर्नुभएको छ ।