बाढीका कारण युरोपेली मुलुकमा मृत्यु हुनेको संख्या १७० पुग्यो

एजेन्सी । पश्चिम युरोपमा भारी वर्षासँगै आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या १७० पुगेको छ ।

ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । बाढीका कारण सबैभन्दा धेरै जर्मनी र बेल्जियममा असर परेको छ । ज्यान गुमाउने १७० जनामध्ये १४३ जना जर्मनीका नागरिक रहेका खबरमा उल्लेख छ ।

बाढीका कयौँ नागरिक हराइरहेका छन् । उनीहरुको उद्धारकर्ताहरूले खोजी गरिरहेका छन् । जर्मन चान्सलर एन्जेला मर्केलले आज बाढी प्रभावित क्षेत्रको अवलोकन र निरीक्षण गर्ने बीबीसीले जनाएको छ ।

बेल्जियममा सेनाले राहत र उद्धारको काम गरिरहेको छ । बेल्जियममा आउँदो ६ गते राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

भारी वर्षासँगै आएको बाढीका कारण जर्मनी र बेल्जियमसँगै नेदरल्याण्ड्स, लग्जम्बर्गसहितका देश पनि प्रभावित भएका छन् ।

युरोपका नेताहरुले जलवायु परिवर्तनका कारण यस्तो विपद् आएको बताएका छन् । विज्ञले जलवायु परिवर्तनकै कारण ठूलो वर्षाको सम्भावना बढ्दै गएको बताएका छन् ।